सर्लाही । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्व स्वास्थ्यमन्त्री वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको धनकौलस्थित वैद्यनाथ आमा तथा बाल अस्पतालको निरीक्षण गरेका छन्।
उनले अस्पतालको पूर्वाधार, सेवा प्रवाह र उपचार प्रक्रियाबबारे प्रत्यक्ष जानकारी लिँदै कार्यरत कर्मचारीहरूसँग संवाद गरेका थिए। निरीक्षणका क्रममा पूर्वमन्त्री सिंहले अस्पतालको सञ्चालनका लागि भौतिक संरचना र कर्मचारी व्यवस्थापनबारे छलफल गर्दै तत्काल ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएका छन्। यसबाट स्थानीय ग्रामीण बस्तीका सर्वसाधारणलाई स्वास्थ्य सेवामा पहुँच पुग्ने अपेक्षा गरिएको छ।
निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले वैद्यनाथ आमा तथा बाल अस्पताललाई जिल्लाकै उदाहरणीय स्वास्थ्य संस्थाको रूपमा चित्रण गरे। उनले यस अस्पतालले यस क्षेत्रका ग्रामीण बासिन्दालाई ठूलो टेवा पुर्याइरहेको बताउँदै यसलाई अझ स्तरीय बनाउन प्रदेश सरकारले सधैँ ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको नेता सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले बताए ।
स्वास्थ्य क्षेत्रलाई अत्यन्त संवेदनशील मान्ने नेता सिंहले स्वास्थ्यप्रति खेलबाड नगर्नुपर्ने विषयमा संसद्मा समेत बारम्बार आवाज उठाउँदै आएका छन्।