ट्रेन्डिङ

मधेशमा जलसंकट न्यूनीकरणका लागि जनचेतनामूलक अभियान सुरु

वीरगन्ज । मधेश प्रदेशमा बढ्दो पानीको समस्यालाई मध्यनजर गर्दै युनिसेफ नेपाल र वीरगन्ज महानगरपालिकाले संयुक्त रूपमा जनचेतनामूलक अभियान सुरु गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र, तथा एन.जी.ओ. सि.सि. लगायत चार स्थानीय संस्थाहरूको सहकार्यमा सुरु भएको यो सातदिने अभियानले पानीको बचत र जिम्मेवार प्रयोगमा जोड दिएको छ।

वर्षाको मौसममा पनि तराई, विशेषगरी मधेश प्रदेशमा देखिएको खानेपानीको विकराल समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। अत्यधिक प्रभावित क्षेत्रका वडाहरूमा स्वयंसेवक परिचालन गरी एक साता लामो ुपानी बचाउ अभियानु सञ्चालन गरिएको छ। यस अभियानले विद्यालय तथा सामुदायिक स्तरमा पानीको महत्त्व र यसको सही प्रयोगबारे जनचेतना फैलाउने लक्ष्य राखेको छ।

अभियानअन्तर्गत वीरगन्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय र अलपाइन स्कुलका विद्यार्थीहरूलाई दैनिक जीवनमा पानी कसरी बचत गर्ने भन्ने विषयमा व्यावहारिक जानकारी र प्रशिक्षण प्रदान गरिएको छ। प्रशिक्षण सत्रमा विशेष गरी घरेलु प्रयोगमा पानीको खपत घटाउने तरिका, वर्षा पानी संकलन, लिक भएका धाराको मर्मत, तथा ‘पानीको पुनः प्रयोग’ जस्ता उपायहरूमा जोड दिइएको थियो।

प्रशिक्षण कार्यक्रम नेपाल रेडक्रस सोसाइटी वीरगन्ज शाखाकी वरिष्ठ सदस्य तथा समाजसेवी गुड्डी साहको नेतृत्वमा सम्पन्न भएको थियो। उनको सहयोगमा नन्दनी गुप्ता र प्रिया कुश्वाहाले प्रशिक्षण कार्यलाई सहज बनाएका थिए। साथै, एन.जी.ओ. सि.सि.का प्रतिनिधिहरू दुलारचन प्रसाद र आनंद यादवको पनि कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो।

आयोजकहरूले यो अभियानले विद्यार्थी र समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै यस्ता सचेतना कार्यक्रमहरूले दीर्घकालीन रूपमा पानीको उपयोगमा सुधार ल्याई जल संकटको सामना गर्न मद्दत पुग्ने बताएका छन्। यस अभियानलाई मधेश प्रदेशका अन्य प्रभावित जिल्लाहरूमा पनि विस्तार गर्ने तयारी रहेको आयोजकले जनाएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै