जनकपुरधाम । मधेश प्रदेश सरकारले सामाजिक सुरक्षा र नागरिकको जीवनस्तर सुधार गर्ने महत्त्वाकांक्षी उद्देश्यसहित घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम औपचारिक रूपमा लागु गरेको छ।
साउन १ गतेदेखि सुरु भएको यो योजनाले पहिलो चरणमा १ लाख घरधुरी र ६ हजार ६ सय नागरिकलाई बीमाको दायरामा ल्याएको छ। यस कार्यक्रममार्फत करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा व्यवस्था गरिएको छ, जसलाई प्रदेश सरकारको सामाजिक सुरक्षा नीतिको एक ठूलो उपलब्धि मानिएको छ।
मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले अगाडि सारेको यो बीमा योजना आम नागरिक र सीमान्तकृत वर्गलाई प्राकृतिक विपद्, दुर्घटना तथा आकस्मिक मृत्यु जस्ता घटनाबाट सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। यसले प्रदेशवासीको जीवनमा आइपर्न सक्ने अप्रत्याशित जोखिमहरूलाई सम्बोधन गर्नेछ।
यो बीमाअन्तर्गत ५ लाख रुपैयाँसम्मको क्षतिपूर्ति प्रदान गरिनेछ। यसमा आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी/हुरी र अन्य आपत्कालीन घटनामा घरधुरीमा हुने क्षति समेटिएको छ। यसले १० लाख रुपैयाँसम्मको सुरक्षा प्रदान गर्नेछ। यसमा आकस्मिक मृत्यु, शारीरिक अपाङ्गता र दुर्घटनाजन्य घाइते अवस्थाहरू समेटिएका छन्।
बीमा दाबीका लागि सरकारले पारदर्शी र सहज कार्यविधि तय गरेको छ। पीडितले साक्ष्यसहितको निवेदन, प्रहरी प्रतिवेदन वा अस्पतालको रिपोर्ट, स्थानीय पालिकाको सिफारिस र प्रदेशको नागरिक भएको प्रमाण पेस गर्नुपर्नेछ। यसरी, योग्य नागरिकहरूले सहजै राहत प्राप्त गर्न सक्ने सरकारको दाबी छ।
मधेश प्रदेश सरकारले यो बीमा कार्यक्रमलाई केवल सहानुभूति नभई नागरिकप्रतिको राज्यको दायित्व र जिम्मेवारीका रूपमा हेरेको छ। सामाजिक न्याय र नागरिकको सुरक्षित भविष्य प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको छ। मधेश प्रदेशमा पहिलो पटक यस्तो व्यापक बीमा कार्यक्रम लागू भएकोले यसले दिगो सामाजिक सुरक्षा प्रणाली निर्माणमा ठूलो टेवा पुग्ने विश्वास सरकारले व्यक्त गरेको छ। प्रदेश सरकारले प्रदेशका नागरिकहरूलाई यस बीमा कार्यक्रमबाट अधिकतम लाभ लिन पनि आग्रह गरेको छ।