ट्रेन्डिङ

देशैभर रेबिज र सर्पदंशको औषधि पर्याप्त : स्वास्थ्य मन्त्रालय

वीरगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधिको अभाव हुन नदिन सातवटै प्रदेशमा पर्याप्त मात्रामा आपूर्ति गरेको छ।

यसअघि केही क्षेत्रमा यी औषधिको अभाव भएको खबर सार्वजनिक भएलगत्तै मन्त्रालयले द्रुत गतिमा आपूर्ति व्यवस्थापन गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रेबिज र सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधिको अभाव भएको समाचार आएपछि मातहतका अधिकारीहरूलाई तत्काल अभाव हुन नदिने गरी आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएका थिए। उनले भविष्यमा पनि यस्ता समस्या नदोहोरिने गरी आवश्यक सबै उपाय अपनाउन भनेका थिए। सोही निर्देशनअनुसार, स्वास्थ्य सेवा विभागले सक्रियताका साथ सबै प्रदेशहरूमा दुवै प्रकारका औषधि पठाएको हो।

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद भइसकेका औषधिहरू आपूर्ति केन्द्रहरूमार्फत प्रदेश सरकारका स्वास्थ्य संस्थाहरूमा पुगिसकेको जानकारी दिए। विभागको तथ्यांकअनुसार, रेबिजविरुद्ध उपयोग हुने ५१ हजार १८० डोज खोप देशभर पठाइएको छ।

बागमती प्रदेशमा सबैभन्दा बढी १० हजार ८० भायल रेबिजविरुद्धको खोप र एक हजार सर्पदंशविरुद्धको खोप आपूर्ति गरिएको छ। सर्पदंशका बढी समस्या आउने मधेश प्रदेशमा सर्पदंशविरुद्धको भेनम खोप सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आपूर्ति गरिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मागका आधारमा अन्य प्रदेशहरूमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको बताए। विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी औषधि आपूर्ति हुने गरी व्यवस्था मिलाइएको जानकारी दिएको छ। यसले भविष्यमा पनि रेबिज र सर्पदंशका बिरामीले सहज रूपमा उपचार पाउन सक्ने सुनिश्चितता गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै