वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज नाका हुँदै खाद्यान्न आयातमा उल्लेख्य वृद्धि भएको छ।
धान, चामल र मकैजस्ता प्रमुख खाद्यान्नको आयातमा भएको यो वृद्धिले नेपालको खाद्य सुरक्षा र आत्मनिर्भरतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
अघिल्लो वर्षको तुलनामा धानको आयातमा ५३ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ३१ करोड ३८ लाख ६५ हजार किलोभन्दा बढी धान आयात भएको छ। अघिल्लो वर्ष यो परिमाण आठ अर्ब २९ करोड रुपैयाँ बराबरको २० करोड ८० लाख किलो थियो।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चामलको आयात पनि ४० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा दुई अर्ब ४१ करोड रुपैयाँ बराबरको दुई करोड ४८ लाख किलो चामल आयात भएको छ, जुन अघिल्लो वर्षको एक अर्ब ७३ करोड रुपैयाँ बराबरको एक करोड ३२ लाख किलोभन्दा धेरै हो।
मकैको आयातमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको १३ करोड ९६ लाख किलो मकै भित्रिएको छ। अघिल्लो वर्ष यो परिमाण पाँच अर्ब ५९ करोड रुपैयाँ बराबरको १२ करोड ९९ लाख किलो थियो।
यसैगरी, फापर, कोदो तथा अन्य खाद्यान्नको आयात ४७ करोड रुपैयाँ बराबरको ९१ लाख किलो पुगेको छ भने कनिकाको आयात चार करोड रुपैयाँ बराबरको आठ लाख ४७ हजार किलो भएको छ।
यी तथ्यांकहरूले मुलुकको खाद्य सुरक्षासम्बन्धी आत्मनिर्भरताको अवस्थामाथि गम्भीर प्रश्न उठाइरहेको विज्ञहरूले बताएका छन्। घरेलु उत्पादन घट्दै जाँदा आयातमा निर्भरता बढ्दै गएको देखिएको छ, जसले दीर्घकालीन रूपमा अर्थतन्त्र र खाद्य सुरक्षामा असर पुर्याउने चेतावनी विश्लेषकहरूले दिएका छन्।