जनकपुर । मधेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवालले प्रदेश सरकारले ‘बेटी जिन्दाबाद’ महाअभियान सञ्चालन गर्ने तयारी गरेको बताएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले आइतबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रदेश सरकारले ल्याएको बालिका संरक्षण तथा सशक्तीकरण ऐन कार्यान्वयनका लागि प्रदेश सरकारले बेटी जिन्दाबाद महाअभियान सञ्चालन गर्न लागेको मन्त्री जयसवालको भनाइ थियो ।
यस महाअभियानले समाजमा विकृतिको रूपमा देखिएको बालविवाह न्यूनीकरणका साथसाथै दहेज प्रथाको उन्मुलन र बालिकाहरूलाई सशक्त बनाउनमा सहयोग पुग्ने उनको विश्वास छ । सन् २०३० सम्ममा बालविवाह मुक्त प्रदेश घोषणा गर्ने सरकारको लक्ष्य अनुरुप प्रदेश सरकारले सबैभन्दा पहिले मधेशमा बालिका संरक्षण तथा सशक्तीकरण ऐन ल्याएको बताए ।
उहाँले भूगोल र बाटोघाटोको मामिलामा अन्य प्रदेश भन्दा सुगम मानिएको मधेश प्रदेश मानवीय र सामाजिक विकासको क्रममा अन्य प्रदेश भन्दा पछाडि रहेको भन्दै वर्तमान अवस्थालाई सबैले फेरिनु पर्नेमा जोड दिए ।
विगतमा मधेश प्रदेशसँग भएको भेदभावका कारण मधेश प्रदेशको अवस्था यस्तो रहेको भन्दै हिजो भएका कमीकमजोरीलाई समीक्षा गरी हामी अब जिम्मेवार भएर अगाडी बढ्नु पर्ने उनको जिकिर छ ।
उनले मधेश प्रदेशमा बालविवाह न्यूनीकरणका लागि कार्यविधि तयार भइरहेको र त्यसलाई चाँडै पारित गरी कार्यान्वयनका लागि अगाडी बढ्ने जानकारी दिए । मधेश प्रदेशका दुई पालिका बालविवाह मुक्त घोषणा भइसकेको र केही घोषणा हुने क्रममा रहेको जानकारी दिँदै मन्त्री जयसवालले पालिकालाई बालविवाह मुक्त घोषणा गरेर मात्र जिम्मेवारी पुरा नहुने बताए ।
घोषणा भएका पालिकाहरूमा निगरानी अझै बढाउनुपर्नेमा जोड दिए । उनले बालविवाह रोकनमा मात्रै केन्द्रित भयौँ भने चुनौती अझै थपिन सक्ने भन्दै बालविवाह किन हुन्छ त्यस विषयमा पनि छलफल हुनु आवश्यक रहेको औल्याए ।
कार्यक्रममा मधेश प्रदेशमा १८ वर्ष मुनिका २२.७ प्रतिशतले बालविवाह गर्ने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।