ट्रेन्डिङ

‘अध्यक्ष पदमा आँखा गाडेपछि पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीले रोक्यो’

वीरगन्ज । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष पदमै आँखा गाडेका कारण केन्द्रीय कमिटीले उनलाई सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गर्नुपरेको खुलासा गरेका छन्।

बालुवाटारमा कर्णाली प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने एमाले नेताहरूसँगको छलफलका क्रममा ओलीले यस्तो सनसनीपूर्ण आरोप लगाएका हुन्।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय लिनेबारे आफूहरूले कल्पना समेत नगरेको बताए। उनले ‘देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँगै पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्द्रीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नु परेको हो’ भन्दै कर्णालीका केन्द्रीय सदस्यहरूलाई स्पष्ट पारे।

ओलीको भनाइअनुसार, पूर्वराष्ट्रपति भण्डारी संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमा र देशकै अभिभावकका रूपमा रहनुपर्ने व्यक्ति हुन्। उनले भने, ‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अभिभावकका रूपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनुभएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौं।’

ओलीले पूर्वराष्ट्रपति भण्डारीको एउटा सदस्यताको विषयमा भएको ‘बखेडा’ ले स्वयम् उनको कद घटाउने काम गरेको टिप्पणी गरे। उनले पार्टीभित्र देखिएको यो अवस्थालाई ‘सानो हावाको झोक्का’ को संज्ञा दिँदै यसमा अल्मलिनुभन्दा पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न नेताहरूलाई निर्देशन दिए।

‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरू संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं,’ ओलीले भने, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो। सामान्य रूपमा समाधान हुन्छ। तपाईंहरू यसमा अल्मलिनु भन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस्।’

ओलीले आफूले पार्टीको नेतृत्व सम्हालेदेखि पार्टीलाई देश र जनताको पक्षमा उभ्याउन तथा राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न लागेको बताए। उनले यसै कारण पछिल्लो समय पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको उल्लेख गरे। अध्यक्ष ओलीले एमालेको अबको ध्यान २०८४ सालको निर्वाचनमा जनादेश प्राप्त गरी पहिलो शक्ति कसरी बन्ने भन्नेमै केन्द्रित हुनुपर्नेमा जोड दिए।

यो घटनाक्रमले नेकपा एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक भूमिकालाई लिएर चलिरहेको बहसलाई थप चर्क्याएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै