वीरगन्ज । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका छन्।
उनले रास्वपाको मुख्यालय घण्टीघर पुगेर लामिछानेलाई आफ्नो साथ रहेको स्पष्ट पारेका हुन्।सिंहले देशको वर्तमान अवस्थाका लागि विगत ३० वर्षदेखि शासन गरिरहेका ठूला दलहरूलाई जिम्मेवार ठहराएका छन्। उनले ती दलहरूले नेपाललाई गरिब बनाएको, विदेशी ऋणको भारी बोकाएको र जताततै भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाए। ‘विगतका शासकहरूले देशलाई निकास दिन सकेनन्, जनतालाई गरिबीमा धकेले र भ्रष्टाचारलाई मौलाउन दिए,’ सिंहले भने।
डा. सिंहले रवि लामिछाने राजनीतिमा आएको तीन वर्ष मात्र भएको र उनीमाथि सहकारी प्रकरणमा लगाइएका आरोपहरू निराधार रहेको जिकिर गरे। उनले सहकारीको रकम ठूला दलकै नेताहरूले हिनामिना गरेको आरोप लगाउँदै लामिछानेलाई फसाउन खोजिएको संकेत गरे। ‘रवि लामिछाने नयाँ शक्तिका रूपमा उदाएका छन् र उनलाई सिध्याउन पुराना शक्तिहरू लागिपरेका छन्,’ सिंहले थपे, ‘सहकारीको रकम ठूला नेताले लुटेका छन्, तर दोष रविलाई दिइएको छ ।’