ट्रेन्डिङ

गाजामा बालबालिका नुन चाटेर बाँच्न बाध्य, इजरायलमाथि मानवीय सहायता रोकेको आरोप

वीरगन्ज । इजरायल–हमास युद्धको २२ औं महिनामा गाजा पट्टीमा मानवीय संकट चुलिँदै गएको छ।

खाद्यान्न आपूर्तिको चरम अभावका कारण बालबालिकाहरू नुन चाटेर र पानी पिएर भोक मेट्न बाध्य भएका दर्दनाक रिपोर्टहरू सार्वजनिक भएका छन्। यस युद्धका कारण हालसम्म भोकमरीबाट १२४ जनाको मृत्यु भइसकेको छ, जसमा ८१ जना बालबालिका रहेका छन्। जुलाई महिनामा मात्रै भोकमरीका कारण १६ बालबालिकासहित ४० जनाले ज्यान गुमाएका छन्।

गाजामा रिपोर्टिङ गरिरहेका स्थानीय पत्रकारहरूका अनुसार ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँभन्दा बढी पुगेको छ। नगद पैसा निकाल्न पनि ४५ प्रतिशतसम्म कमिसन तिर्नुपर्ने बाध्यता छ। इजरायलले विदेशी पत्रकारहरूलाई गाजामा प्रवेश निषेध गरेकाले स्थानीय सञ्चारकर्मीहरूले नै विषम परिस्थितिमा रिपोर्टिङ गरिरहेका छन्। एक पत्रकारले २१ महिनामा आफ्नो तौल ३० किलोले घटेको र आफू थकान र रिंगटासँग जुधिरहेको बताएका छन्।

दक्षिण गाजाको सबैभन्दा ठूलो नासिर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार गाजाका सम्पूर्ण मानिसहरू भोकमरीको चपेटामा छन्। कुपोषणका कारण ज्यान गुमाउने बालबालिकाको संख्या निरन्तर बढिरहेको छ। युद्ध सुरु हुँदा अस्पतालमा हवाई आक्रमणबाट घाइते हुनेको संख्या बढी भए पनि अहिले कुपोषणग्रस्त बालबालिकाहरूको संख्याले प्राथमिकता पाएको उनले बताए। संयुक्त राष्ट्रसंघका अनुसार गाजाको एक तिहाइ जनसंख्या धेरै दिनमा एकपटक मात्र खाना पाउने अवस्थामा छन्।

बढ्दो अन्तर्राष्ट्रिय आलोचनापछि इजरायली सेनाले गाजामा हवाई मार्गबाट सहायता पुर्‍याउन सुरु गरिसकेको छ। अमेरिकाका लागि इजरायली राजदूत येचिएल लाइटरले शनिबार इजरायली सेनाले आइतबारदेखि गाजाका लागि मानवीय कोरिडोर खोल्ने र यसको उद्देश्य सहायता बढाउनु रहेको जनाएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास शान्ति नभई मृत्यु खोजिरहेको बताउँदै इजरायललाई गाजामा आफ्नो लक्ष्य पूरा गर्न र सैन्य कारबाही तीव्र बनाउन आग्रह गरेका छन्। ट्रम्पले ‘इजरायलले हमासलाई सम्पूर्ण रूपमा समाप्त गर्ने समय आइसकेको छ’ भन्दै उसलाई निखार्नैपर्ने बताएका छन्।

गाजाको सरकारी मिडियाले गत महिना इजरायली सेनाले प्यालेस्टिनी जनतालाई लागुऔषध (ड्रग्स) दिइरहेको आरोप लगाएको थियो। उनीहरूको आरोपअनुसार गाजा ह्युम्यानिटेरियन फाउन्डेसन ९जीएचएफ० ले वितरण गरेका पीठोको बोरामा अक्सिकोडोन नामक लागुऔषधका गोलीहरू भेटिएका थिए। जीएचएफ इजरायली सेनाद्वारा सञ्चालित र अमेरिकाबाट समर्थन प्राप्त संस्था हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै