वीरग्न्ज । वीरगन्जस्थित नेशनल मेडिकल कलेज प्रा. लि. ले नेपाल ट्रक यातायात व्यवसायी महासंघसँग सवारी दुर्घटनामा घाइते हुने चालक, कर्मचारी र पदाधिकारीहरूको उपचारमा सहजता ल्याउने उद्देश्यले महत्त्वपूर्ण सम्झौता गरेको छ।
यो सम्झौताले देशभरका ट्रक व्यवसायीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ।
सम्झौताअनुसार, महासंघबाट सिफारिस भई आउने बिरामीहरूलाई नेशनल मेडिकल कलेजले प्राथमिकताका साथ स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ। विशेष गरी आकस्मिक अवस्थामा तत्काल उपचार शुरू गर्ने व्यवस्था मिलाइएको छ, जसले गर्दा समयमै जीवन बचाउन सकिनेछ।
उपचार खर्चको हकमा, सुरुको ३ लाख रुपैयाँसम्मको खर्च सम्बन्धित स्थानीय संघ—संस्थाले बेहोर्नेछन्। यदि उपचार खर्च सोभन्दा बढी भएमा बाँकी रकम महासंघले बेहोर्ने सहमति भएको छ। यसका साथै, बीमा दावी प्रक्रियामा आवश्यक पर्ने सम्पूर्ण कागजातहरू अस्पतालले उपलब्ध गराउनेछ, जसले बिरामी र उनीहरूका परिवारलाई आर्थिक राहत पुग्नेछ।
यो सम्झौता ३ वर्षका लागि गरिएको छ र दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ। यस सम्झौतामा देशभरका १८ वटा यातायात व्यवसायी संघहरू आबद्ध छन्, जसले यसको प्रभावकारितालाई अझ फराकिलो बनाएको छ। संलग्न संघहरूमा नारायणी यातायात व्यवसायी संघ हेटौडा, तराई यातायात व्यवसायी संघ सिमरा, पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल, कोशी ट्रक व्यवसायी संघ इटहरी लगायतका प्रमुख संघहरू छन्।
नेशनल मेडिकल कलेजको तर्फबाट ई प्रदीप कुमार चौधरी र नेपाल ट्रक यातायात व्यवसायी महासंघको तर्फबाट केन्द्रीय कोषाध्यक्ष ओम कृष्ण कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे। कार्यक्रममा कलेजका मार्केटिङ म्यानेजर जीतेश दास, एडमिन विश्वनाथ कान्त, तराई यातायात व्यवसायी संघका महासचिव अर्जुन प्रसाद अधिकारी, का.स.स. मदन राज कंसकार र मिडिया संयोजक आशिक अन्सारी लगायतको उपस्थिति थियो।
यो सम्झौताले देशभरका हजारौं ट्रक चालक तथा यातायात व्यवसायीहरूको स्वास्थ्य सुरक्षा र उपचारमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।