वीरगन्ज । मधेश प्रदेशमा लामो समयदेखि पानी नपर्दा किसानहरू गम्भीर सिँचाइ संकटको चपेटामा परेका छन्।
आकाशे पानीको अभावसँगै नदी, खोला र नहरहरू सुकेपछि किसानहरूलाई भविष्यमा खाद्य संकट आउन सक्ने चिन्ताले सताएको छ। यस विकराल समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकार आ–आफ्नो स्तरबाट प्रयास गरिरहेका छन्।
यसैबीच, पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ९ का किसानहरूको खेत सुक्न थालेपछि वडाध्यक्ष रवीन्द्र कुमार गुप्ताले समस्या समाधानमा सक्रियता बढाएका छन्। सोही क्रममा उनले आजदेखि मूल नहर सफाइ अभियान सुरु गरेका छन्।
‘खेतमा पानी नपुगेर धानका ‘रोपा’हरु सुक्न थालेका छन् । किसान परेशान छन् ।’ वडाध्यक्ष गुप्ताले भने, ‘पानी पनि परेको छैन, सिँचाईका लागि किसानलाई राहत होस् भनेर नगरको सफाई हुँदैछ, यसले थोरै भएपनि राहत हुन्छ कि भन्ने विश्वास छ । ’
स्थानीय किसान उपेन्द्र यादवका अनुसार सिँचाइका लागि पानी नपुग्दा धान खेतमा धाँजा फाटेका छन् भने पानीका मुहानहरू पनि सुकेका छन्। उनले सिँचाइका लागि उपलब्ध सुविधाहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन वडाध्यक्षले विभिन्न पहल गरिरहेको बताए।
मधेशमा वर्षा नहुँदा धान रोप्न समस्या भएको छ भने रोपिएका धानका बिरुवाहरू पनि सुक्न थालेका छन्। किसानहरूले विद्युतीय मोटर र डिजेल पम्पको प्रयोग गरिरहे पनि त्यो पर्याप्त नभएको र कतिपय अवस्थामा करेन्ट लागेर ज्यान गुमाउने घटनासमेत बढेका छन्।
बहुदरमाई ९ का वडाध्यक्षले चालेको यो कदमले तत्कालका लागि केही राहत मिल्ने अपेक्षा गरिएको छ। यद्यपि, सिँचाइ समस्या समाधानका लागि दीर्घकालीन र एकीकृत योजना आवश्यक रहेको देखिन्छ।