ट्रेन्डिङ

समृद्धि आम जनताका लागि, राजनीतिक स्थायित्व अनिवार्य : पूर्वराष्ट्रपति भण्डारी

वीरगन्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठ्ठीभर मानिसका लागि नभई आम जनताका लागि हुनुपर्नेमा जोड दिएकी छन्।

बिहीबार काठमाडौंमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ लाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण निर्माण गर्ने बताएकी हुन्।

भण्डारीले नेपालको समृद्धि केवल वर्तमानको आर्थिक सूचकाङ्कले मात्र मापन गर्न नसकिने बताएकी छिन्। यसलाई दिगो बनाउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता र राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्ने उनको भनाइ थियो।

‘हामीले के बिर्सनु हुँदैन भने समृद्धि केबल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनुपर्दछ,’ उनले भनिन्, ‘लगानीसँगै रोजगारी, समावेशिता, ग्रामीण विकास, महिला उत्थानशीलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्दछ।’

भण्डारीले समृद्धिको मार्ग अरूको मोडल अनुशरण गर्ने मात्र नभई आफ्नै समाजका आवश्यकता, स्रोत साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रूपमा विश्लेषण गरेर तय गर्नुपर्नेमा जोड दिइन्।

उनले लगानी प्रवर्द्धनलाई आत्मनिर्भर र समृद्ध नेपाल निर्माणको महत्त्वपूर्ण माध्यमको रूपमा व्याख्या गरिन्। ‘लगानीको ढोका केबल पुँजी र मुनाफाका लागि मात्र खोलिएको होइन, बरु त्यो ढोका सम्भावना र विश्वासका लागि पनि खोलिएको हो भन्ने ठान्नुपर्दछ,’ भण्डारीले भनिन्।

समग्रमा, पूर्वराष्ट्रपति भण्डारीले नेपालको दिगो र समावेशी समृद्धिका लागि राजनीतिक स्थिरता, जनता केन्द्रित लगानी र आफ्नै मौलिक विकास मोडलको महत्त्वमा जोड दिएकी छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै