ट्रेन्डिङ

भूमि विधेयकमा पुनर्विचार गर्न सरकारलाई उपेन्द्र यादवको आग्रह

वीरगन्ज । जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित भूमि विधेयकमा रहेका प्रावधानहरूमाथि पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले सरकारले एकातिर ‘सगरमाथा सर्किट’को कुरा गर्ने र अर्कोतिर वन फँडानी तथा भूमाफियालाई जग्गा दिने गरी कानुन बनाउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे।

अध्यक्ष यादवले विधेयकका प्रावधानहरूप्रति प्रश्न उठाउँदै भने, ‘हामी कस्तो नीति अपनाउँदैछौँ ? यो नीतिलाई पुनर्विचार गरौँ। तराईलाई मरुभूमीकरण हुनबाट जोगाऔँ।’

जसपा नेपालले यसै विधेयकमा असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो। बिहीबारको बैठकमा पनि अध्यक्ष यादवले यही असन्तुष्टिलाई पुनः दोहोर्याएका हुन्।

यादवले तराईमा रहेको खानेपानीको अभावबारे तत्काल कदम चाल्न पनि सरकारलाई आग्रह गरे। उनले तराईमा सिँचाइको अभाव हुनुमा नेपालको कमजोर परराष्ट्र नीतिको भूमिका रहेको आरोप लगाए।

सरकारको कमजोर कूटनीतिका कारण गण्डक नहर र कोशी ब्यारेज आसपासका नागरिकहरू सिँचाइ सुविधाबाट वञ्चित भएको टिप्पणीसमेत उनले गरे। यसले गर्दा तराईको कृषि र जनजीवनमा नकारात्मक असर परिरहेको उनको भनाइ थियो।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै