वीरगन्ज । नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) ले मधेश प्रदेशमा व्याप्त खानेपानी र सिँचाइको अभावमा संघीय सरकारले राजनीति गरिरहेको भन्दै कडा आपत्ति जनाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको द्वैध व्यवहार प्रति खेद प्रकट गरे। सांसद श्रेष्ठले संघीय सरकारले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद दिए। तर, उनले यत्तिले मात्र सरकारको दायित्व पूरा नहुने बताए। ‘विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिदिएर मात्रै राज्यको दायित्व पूरा हुँदैन भन्ने विषयमा सरकार गम्भीर देखिएको छैन,’ उनले भने।
श्रेष्ठले खानेपानी र सिँचाइको अभावमा रहेका मधेशका नागरिकको समस्यामा संघीय सरकार रमिते मात्र बनिरहेको आरोप लगाए। उनले पिउने पानीको आपत्कालीन आपूर्ति र पानीका स्रोत संरक्षणमा सरकारले आवश्यक कदम नचालेको जिकिर गरे।
सांसद श्रेष्ठले नयाँ डिप बोरिङका नाममा भइरहेको राजनीतिले छिमेकी जिल्लाका मन्त्रीहरूको निर्वाचन क्षेत्रका जनतालाई मात्र राहत मिल्ने हो कि भन्दै प्रश्न उठाए। उनले मधेशका सबै जिल्लामा संघीय सरकारले समान व्यवहार गर्नुपर्ने माग गरे।
‘मधेशका अन्य सात जिल्लाका नागरिकले सरकार भएको अनुभूति गर्न पाएका छैनन्,’ श्रेष्ठले आक्रोश व्यक्त गर्दै भने, ‘पिउने पानीजस्तो पवित्र कुरामा पनि राजनीतिक नियन्त्रण राख्न खोज्ने माननीय मन्त्रीहरूप्रति खेद प्रकट गर्न चाहन्छु।’
श्रेष्ठले खानेपानी मन्त्रालयमा समस्या लिएर जाँदा अर्थ मन्त्रालयले बजेट स्वीकृति नदिएको जवाफ आउने गरेको र विपद् प्राधिकरणले पनि बजेट छैन भन्ने गरेको गुनासो गरे। यस्तो अवस्थामा मधेशमा घोषणा गरिएको संकटग्रस्त क्षेत्रमा कसले काम गर्छ भन्ने प्रश्न उनको थियो।