जनकपुरधाम । मधेश प्रदेशमा खडेरीका कारण सिँचाइको समस्या विकराल बन्दै गएको बेला करेन्ट लागेर किसानको मृत्यु हुने क्रम रोकिएको छैन।
धनुषामा विद्युतीय मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर अर्का एक किसानको ज्यान गएको छ। धनुषाको हंसपुर नगरपालिका–३, मलहनियाका ६० वर्षीय असर्फी महराको करेन्ट लागेर मृत्यु भएको हो। बुधबार दिउँसो पौने ४ बजेतिर उनले आफ्नै खेतमा पानी सिँचाइ गरिरहेका थिए। यसै क्रममा मोटरमा जडान गरिएको तार सर्ट भई करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
तत्काल उपचारका लागि स्थानीय क्लिनिक हंसपुरमा लगिए पनि उनको ज्यान बचाउन नसकिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन्। बुधबार मात्र रौतहटमा करेन्ट लागेर दुई जना किसानको मृत्यु भएको थियो । मधेश प्रदेशमा खडेरीका कारण धान रोप्न नपाएका र रोपिसकेको धान पनि सुक्न थालेपछि किसानहरू विद्युतीय मोटरको भर पर्न बाध्य छन्।
तर, विद्युतीय मोटरको प्रयोगमा आवश्यक सावधानी अपनाउन नसक्दा करेन्ट लागेर दिनहुँजसो किसानहरूले ज्यान गुमाउनु परेको छ।