वीरगन्ज । पूर्वी रुसको आमुर क्षेत्रमा ४९ जना यात्रु बोकेको एक यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ।
चीनको सीमानजिकैको दुर्गम सहर टिण्डामा गइरहेको एङ्गारा एयरलाइन्सको एएन–२४ विमान बुधबार बिहानदेखि हराएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
सीएनएनका अनुसार, हराएको विमानको खोजी कार्य तीव्र पारिएको छ। तर, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण उद्धार कार्यमा चुनौती देखिएको छ। आमुरका गभर्नर भासिली ओरलोभले विमानमा ५ बालबालिकासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य रहेको बताएका छन्। यद्यपि, रुसको आपतकालीन मन्त्रालयले भने विमानमा करिब ४० जना सवार रहेको उल्लेख गरेको छ।
गभर्नर ओरलोभले विमानको खोजीका लागि आवश्यक सबै सुरक्षाकर्मी, उद्धार टोली र स्रोत साधन परिचालन गरिएको जानकारी दिएका छन्। विमानको अवस्था र यात्रुहरूको सुरक्षाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। थप विवरण आउन बाँकी छ।