ट्रेन्डिङ

गौतम माविमा विद्यार्थी परिषद्को पदभार तथा शपथग्रहण सम्पन्न

वीरगन्ज । गौतम माध्यमिक विद्यालयमा विद्यार्थी परिषद् २०८२ को पदभार तथा शपथग्रहण एवम् ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको सभागृहमा आयोजित यस समारोहमा विद्यार्थीहरूमा नेतृत्व, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना जगाउने उद्देश्य राखिएको थियो।

विद्यालयका प्रधानाध्यापक तथा परिषद्का अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षतामा भएको यस कार्यक्रममा नेपाली सेनाकी मेजर रेनु शाह प्रमुख अतिथि थिइन्। मेजर शाहले राष्ट्र निर्माणको आधार शिक्षामा रहेको बताउँदै विद्यालयस्तरमै यस्ता नेतृत्वदायी कार्यक्रमहरूले विद्यार्थीमा नेतृत्व क्षमता, जिम्मेवारी र सेवाभाव जागृत हुने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा हेड ब्वाय नमन श्रेष्ठ र हेड गर्ल नियासना श्रेष्ठ लगायत विभिन्न विभागका प्रमुखहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरे। उनीहरूले विद्यालयमा एकता, उत्कृष्टता र प्रेरणाको भावना कायम राख्ने प्रतिबद्धता जनाए।

सक्षम बर्णवाल र आयुषी चौरसियाले शैक्षिक वातावरण सुधार्ने, अनमोल सिंह र मेघा गुप्ताले अनुशासन कायम गर्ने, निसान रोय र असरीका राज्यलक्ष्मीले खेलकुद विकास गर्ने, रिजन साह र आरोग्य चापागाईंले सहपाठ्यक्रम गतिविधिमा सृजनात्मकता बढाउने, याशन्क अग्रवाल र रमा अग्रवालले सामाजिक सेवा गर्ने तथा सुभम कुमार गुप्ता र सगुन कर्णले डिजिटल सुरक्षा र सन्तुलन कायम गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा कर्णाली (रातो), कोशी (निलो), गण्डकी (हरियो) र नारायणी (पहेंलो) गरी चारवटै हाउस अन्तर्गतका सबै निर्वाचित मनिटर तथा विभागीय प्रमुखहरूलाई ब्याच वितरण गरिएको थियो।

शिक्षक सौराज प्रधानले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका शिक्षकहरू, पत्रकार, समाजसेवी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै