ट्रेन्डिङ

नेपालमा कम्युनिष्ट आन्दोलन अब सकिनेतिर छ : उपेन्द्र यादव

वीरगन्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन आफ्नो अन्त्यको दिशातर्फ उन्मुख रहेको दाबी गरेका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृतिसभामा बोल्दै यादवले कम्युनिष्ट नेताहरू प्रचण्ड, माधव नेपाल र विप्लव लगायतका नेताहरू मञ्चमा उपस्थित भएकै बेला यो अभिव्यक्ति दिएका हुन्।

यादवले नेपालको कम्युनिष्ट आन्दोलन ‘उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किरहेको’ दाबी गरे। उनले कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै षड्यन्त्र रहेको र त्यो अहिलेसम्म पनि अन्त्य हुन नसकेको टिप्पणी गरे।

उपेन्द्र यादवले पुष्पलाल श्रेष्ठको योगदानको चर्चा गर्दै भने, ‘नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवन्त संघर्ष गर्ने व्यक्तित्वको रूपमा पुष्पलाललाई लिनुपर्छ।’

उनले कम्युनिष्ट पार्टीको स्थापना कालमै देखिएको षड्यन्त्रलाई स्मरण गराए। ‘बिडम्बना के छ भने २००६ सालमा कलकत्तामा उहाँले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो। दुई वर्षमै यति धेरै षड्यन्त्रकारीहरू पार्टीमा घुसे। २००८ सालमै पार्टीको महासचिवबाट हटाइयो,’ यादवले भने।

अध्यक्ष यादवले आफ्नो भाषणको क्रममा अझै पनि कम्युनिष्ट पार्टीभित्र षड्यन्त्र गर्ने प्रवृत्ति नरोकिएकोमा जोड दिए। ‘षड्यन्त्र त कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै चल्दै आएको रहेछ, जो अहिलेसम्म अन्त्य भएको छैन,’ उनले भने, ‘नेपालमा कम्युनिष्ट आन्दोलन करिब करिब समाप्त भएको अवस्थामा म देख्छु। कम्युनिष्ट आन्दोलनबाट लिबरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु।’

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै