रौतहट । रौतहटमा धान खेतमा सिँचाइ गर्ने क्रममा विद्युतीय मोटर जोड्दा करेन्ट लागेर दुई जना किसानको ज्यान गएको छ।
छुट्टाछुट्टै घटनामा कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवान र माधवनारायण नगरपालिका वडा नं. ४ बिसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखिया को मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले दिएको जानकारीअनुसार, मोक्तार देवानलाई गए राति धान खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेको थियो। उनलाई उपचारका लागि गरुडाको ग्रान्डी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
यसैगरी, आज बिहान ७ बजेतिर रामबाबु मुखियालाई पनि आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेको थियो। उनलाई प्रादेशिक अस्पताल गौर ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक दुवै जनाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताएका छन्।
पछिल्लो समय रौतहटमा सिँचाइका क्रममा करेन्ट लागेर ज्यान जाने घटनाहरू बढेको पाइएको छ, जसले गर्दा किसानहरूले सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।