जनकपुरधाम । भारत–धनुषा जिल्लासँग जोडिएको भारतको मैनाथपुर बोर्डरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चार राउन्ड गोली चलाएको छ।
भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाको ग्रामपञ्चायत–६ मैनाथपुर सीमा क्षेत्रमा यो घटना भएको हो।
भारतीय व्यापारीहरूले रासायनिक मल नेपाल भित्र्याउने विषयमा एसएसबीसँग भएको विवादले उग्र रूप लिएपछि गोली चलेको बताइएको छ। विवादलाई नियन्त्रणमा लिने क्रममा एसएसबीले चलाएको गोली लागेर भारतीय व्यापारी भर्ता पासवानको दाहिने कम्मरमा चोट लागेको छ। चलाइएका चार राउन्ड गोलीमध्ये दुई राउन्ड पासवानलाई लागेको जनाइएको छ।
घटनापछि हाल नेपालको विदेह नगरपालिका–१ स्थित महिनाथपुर सीमा र भारततर्फको बोर्डर पूर्ण रूपमा बन्द गरिएको छ। साथै, दुवै देशबाट आवतजावत गर्ने सर्वसाधारणलाई समेत रोक लगाइएको सशस्त्र प्रहरीले बताएको छ।