ट्रेन्डिङ

टायर पड्किएको निहुँमा सुवर्ण गाउँपालिका अध्यक्ष यादवद्वारा युवामाथि हातपात

बारा । लोकतन्त्रमा जनताका सेवक मानिने जनप्रतिनिधिबाटै जनतामाथि अपमानजनक व्यवहार हुनु आफैंमा दुःखद छ ।

यस्तै एउटा गम्भीर घटनाले मधेश प्रदेशमा जनप्रतिनिधिको आचारसंहितामाथि प्रश्न उठाएको छ । सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवमाथि सार्वजनिक स्थानमै मदिरा सेवन गरी एक युवालाई हातपातको प्रयास गरेको आरोप लागेको छ ।

कलैया उपमहानगरपालिका–३, गङ्गापुरका विकास साहले आफूमाथि अध्यक्ष यादवले दुर्व्यवहार गरेको बताएका छन् । साहका अनुसार, उनी सामान्य कामका लागि कलैया–गढीमाई सडकअन्तर्गत यामाहा शोरुमअगाडि बाटो काट्दै थिए । सोही क्रममा अध्यक्ष यादव चढेको मधेश प्रदेश ०३–००१ च ७७२२ नम्बरको स्कार्पियो गाडीको पछाडिको टायर अचानक पड्कियो । टायर पड्किएको दोष आफ्नो बाइकलाई दिँदै अध्यक्ष यादवले आफूमाथि दुर्व्यवहार गरेको साहको भनाइ छ ।

‘अध्यक्ष यादवले आफ्नो पद र शक्तिको दम्भ देखाएर मलाई हप्काउन खोज्नुभयो, म मानसिक रूपमा प्रताडित भएको छु,’ साहले भने । उनले थपे, ‘गाउँपालिका अध्यक्षजस्तो जिम्मेवार व्यक्तिले दिउँसै मदिरा सेवन गरी चिच्याउने, धम्काउने र हातपात गर्न खोज्नुले सिंगो गाउँपालिकाको इज्जतमा दाग लागेको छ ।’ अध्यक्षले ‘पावर’को भरमा आफूलाई थुनाउने धम्की दिएको भन्दै साहले असुरक्षित महसुस गरेको बताए ।

यस घटनाले स्थानीय नागरिकहरूमा तीव्र असन्तुष्टि बढेको छ । एक स्थानीयले आक्रोश पोख्दै भने, ‘हामीले भोट दिएर सेवा गर्न पठाएका जनप्रतिनिधि आजभोलि सेवाग्राही र आम जनतालाई तुच्छ व्यवहार गर्न थालेका छन् ।’
पीडित साहले घटनाका प्रत्यक्षदर्शी स्थानीय ट्राफिक प्रहरीले समेत अध्यक्षको प्रभावमा परेर आफ्नो कुरा नसुनी उल्टै हप्काएको आरोप लगाएका छन् ।

यो घटनाले स्थानीय शासनमा देखिएको विकृति र शक्तिको चरम दुरुपयोगलाई उजागर गरेको छ । जनताको सेवामा समर्पित हुनुपर्ने व्यक्ति नै जब यसरी हातपातमा उत्रिन्छन्, तब लोकतान्त्रिक मूल्यमान्यतामाथि गम्भीर प्रश्न उठ्छ । यस विषयमा अध्यक्ष यादवसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै