वीरगन्ज । नेपाली कांग्रेसले आज विश्वेश्वर प्रसाद कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
यो कार्यक्रम पर्सा जिल्लाको पिपरास्थित सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले वृक्षारोपणको महत्त्वमाथि प्रकाश पार्दै वातावरण संरक्षणका लागि सबैलाई योगदान गर्न आग्रह गरे ।
नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी विशिष्ट अतिथि रहेको यस कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता थियो । सहभागीहरूले वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनको महत्त्वबारे छलफल गरेका थिए ।
नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति, क्षेत्र नं. १, पर्साले आयोजना गरेको यो कार्यक्रम स्वर्गीय कोइरालाप्रति सम्मान र वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले गरिएको आयोजकहरूले बताएका छन् । वृक्षारोपणमा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको पनि सहभागिता रहेको थियो ।