वीरगन्ज । काठमाडौंको ठमेलबाट प्रहरीले २ किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई सोमबार राति नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले उनीहरूको साथबाट बरामद गरिएको २ किलो सुन र २४ लाख नगदबारे पुष्टि गरेका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार, चुनलिन थान करिब डेढ महिनाअघि काठमाडौं आएर ठमेलको सोही होटलमा बस्दै आएका थिए भने सुमेई चोउ केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् । प्रहरीका अनुसार, उनीहरू दुई जना प्रेमी–प्रेमिका हुन् ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।