वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं. १९ विन्दावासिनी स्थित तिलावे नदीको किनारमा गरिएको घेराबारमा तोडफोड भएको छ।
सार्वजनिक जग्गाको संरक्षण तथा हरियाली प्रवर्दनका लागि महानगरले हालै गाडेको ८० वटा पोलमध्ये ३४ वटा पोल ढलेका छन् । महानगरका वातावरण निरीक्षक प्रकाश ऐरको नेतृत्वमा गएको टोलीले स्थलगत निरीक्षणका क्रममा उक्त तोडफोडबारे जानकारी पाएको हो ।
गत असार महिनामै करिब ७ विघा क्षेत्रफल ओगट्ने उक्त सार्वजनिक जग्गामा वृक्षारोपणको तयारीस्वरूप अहिले ८० वटा पोलले घेराबार गरिएको थियो।
यसअघि सो क्षेत्रको केही भाग केही व्यक्तिहरूले अनाधिकृत रूपमा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएका थिए। ती व्यक्तिहरूकै मिलोमतोमा घेराबार तोडफोड गरिएको हुन सक्ने आशंका गरिएको छ।
‘सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय सुधारका लागि महानगरले सुरु गरेको वृक्षारोपण अभियानमा नियोजित रूपमा अवरोध पुर्याइएको देखिन्छ’, नगरप्रमुख राजेशमान सिंह भन्छन्, ‘यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनमा आवश्यक प्रकृया सहित उजुरी दिइसकेका छौँ ।’
महानगरले तिलावे नदी किनारको सार्वजनिक जमिनमा दीर्घकालीन योजना अनुरूप वृक्षारोपण गरी हरित क्षेत्रको विकास गर्ने तयारी गरेको थियो । सार्वजनिक हितविरुद्ध हुने यस्ता कार्यलाई कुनै हालतमा स्वीकार नगर्ने महानगरले स्पष्ट पारेको छ ।
यस घटनापछि महानगरले स्थायी निगरानी प्रणालीसहित सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गर्ने तयारीसमेत थालेको छ। साथै, नागरिकलाई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोगी बन्न र यस्ता गतिविधिको विरोधमा आवाज उठाउन आह्वान गरिएको छ।