जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ का निलम्बित वडाध्यक्ष अर्जुनकुमार चौधरीमाथि भ्रष्टाचार मुद्दाको निलम्बनपछि अब बाल यौनदुरुपयोग कसुरको गम्भीर आरोप लागेको छ।
एक नाबालिगले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएपछि प्रहरीले उनलाई साउन १ गते पक्राउ गरेको हो।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका अनुसार, वडाध्यक्ष चौधरीविरुद्ध साउन २ गते बाल यौनदुरुपयोग कसुरसम्बन्धी मुद्दा दर्ता भएको छ। प्रहरी हिरासतमा रहेका चौधरीमाथि थप अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए ।
पीडित नाबालिगले आफ्नो जाहेरीमा वडाध्यक्ष चौधरीले नागरिकता बनाउन गएको बेला उनलाई घरमा बोलाएर शरीरका संवेदनशील अंग चलाउने प्रयास गरेको उल्लेख गरेकी छन्। साथै, उनले ‘गुड फ्राइडे’ मनाउने बहानामा कतै टाढा जानका लागि करकाप गरेको आरोप पनि लगाएकी छन्। नाबालिगका अनुसार, वडाध्यक्ष चौधरीले शारीरिक सम्बन्ध नराखे नागरिकता दिलाउन नसकिने भन्दै लामो समयसम्म झुलाउँदा उनको कतिपय जरुरी काममा समेत असर परेको थियो।
वडाध्यक्ष चौधरी यसअघि नै घुसकाण्डमा निलम्बित भइसकेका थिए। २०८० जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गर्दा उनी वडा सचिव माधवकुमार रायसहित रंगेहात पक्राउ परेका थिए।