जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको बाल विकास कक्षा कोठामा एक शिक्षिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
मृतक ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर सोही विद्यालयमा बाल विकास कक्षामा पढाउँदै आएकी थिइन्। गत साउन १ गते बिहान करिब ४ः४५ बजे उनको शव विद्यालयको कक्षा कोठामा भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, प्रारम्भिक अनुसन्धानमा यो घटनामा मिटरब्याजी राजकिशोर यादवको संलग्नता देखिएको छ। यादवलाई साउन २ गते नै पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दा चलाइएको छ।
प्रहरीले घटनास्थल नजिकै रहेको मगरको स्कुटी (ज ११ प ७४९२ नम्बरको)को डिक्कीबाट सुसाइड नोट समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानबाट खुल्न आएअनुसार, मृतक मगरले यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन्।
ऋण चुक्ता गरिसकेको भए पनि यादवले खाली चेक लिएर त्यसलाई ४५ लाख पुर्याई बार्गेनिङ गरिरहेको प्रहरीको भनाइ छ। यादवले मगरलाई पटकपटक मानसिक यातना, धाकधम्की र बेइज्जत गर्ने चेतावनी दिँदै आएको अनुसन्धानबाट खुलेको छ।
परिवारजनका अनुसार, मिटरब्याजी यादवले असार ३२ गते घरमै पुगेर पैसा तिर्न दबाब दिएका थिए र नतिरेमा चेक बाउन्स गरेर जेल पठाउने धम्की दिएका थिए। मगरले ऋण लिएको कुरा परिवारका केही सदस्यलाई मात्र थाहा भएको बताइएको छ।
प्रहरीले यादवको घरबाट विभिन्न व्यक्तिका नाममा रहेका ९ थान सक्कल र प्रतिलिपि तमसुक, २३ थान सक्कलै जग्गाधनी प्रमाणपत्र, विभिन्न बैंकका भौचर र चेकहरू समेत बरामद गरेको डीएसपी सिंहले जानकारी दिए । यस घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।