वीरगन्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा आजदेखि ठूलो संख्यामा नयाँ कर्मचारी खटिएका छन्।
गृह मन्त्रालयले ४५ जना नयाँ शाखा अधिकृतलाई विमानस्थल अध्यागमनमा पठाएको हो। यी अधिकृतहरू हालै लोकसेवा आयोगबाट उत्तीर्ण भई आएका हुन् र उनीहरूलाई अध्यागमन विभागले तीनदिने तालिम दिएको थियो।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, सोमबारदेखि अध्यागमन कार्यालयको नेतृत्व सम्हाल्न सहसचिव नरहरि घिमिरे पनि प्रमुखको रूपमा हाजिर भएका छन्। घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रवक्तासमेत हुन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएपछि यो पदस्थापन भएको हो। सोही संख्यामा (४५ जना) पुराना शाखा अधिकृतहरूलाई मन्त्रालयमा तानिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीका अनुसार, मन्त्रालयमा दरबन्दीभन्दा बढी अधिकृत भएमा उनीहरूलाई सामान्य प्रशासन मन्त्रालयमार्फत अन्यत्र पठाइनेछ।
यसैबीच, सरकारले अध्यागमन र भिजिट भिसामा देखिएका समस्या समाधानका लागि पूर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ। यस समितिले यात्रा सहजीकरणका लागि नीतिगत, कानुनी तथा संरचनागत सुधारका अल्पकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्ने कार्यादेश पाएको छ।