ट्रेन्डिङ

सिरहा कारागारमा कैदीबन्दीबीच भीषण झडप, १३ जना घाइते

सिरहा । सिरहा सदरमुकाम लहानस्थित कारागारमा आइतबार कैदीबन्दीबीच भएको भीषण झडपमा कम्तीमा १३ जना घाइते भएका छन्।

झडपपछि कारागार क्षेत्र तनावग्रस्त बनेको छ र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

घाइते हुनेहरूमा कारागारका नाइके दिपक ठाकुर, मूलनाइके बरुण महतो र चौकीदार विजय महतोसहितका कैदीहरू छन्। उनीहरूलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल पुर्‍याइएको छ।

झडपको मुख्य कारण कारागारभित्र इँटासहितका सामान लैजाने विषयमा उत्पन्न विवाद रहेको स्रोतले बताएको छ। कैदीहरूले ती सामान सुरक्षामा असर पुग्ने गरी भित्र लगेको र कारागार प्रशासनले बाहिर निकाल्न भन्दा विवाद बढेको जनाइएको छ।

यो घटना हुनुभन्दा एक दिनअघि, शनिबार मात्रै स्थानीय प्रशासनले कारागारमा अवैध गतिविधि भइरहेको भन्दै अनुगमन गरेको थियो। यसबाट कारागारभित्रको आन्तरिक व्यवस्थापन र सुरक्षामा प्रश्न उठेको छ।

सिरहा कारागारको क्षमता २ सय जना कैदीबन्दी अटाउने भए पनि हाल त्यहाँ ४५८ जना कैदीबन्दी राखिएको छ। क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती थपिएको र यस्ता झडपका घटनाहरू बढ्न सक्ने जोखिम रहेको देखिन्छ।

यस घटनाबारे सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले अहिले घाइतेहरूको अवस्था बुझ्न अस्पताल पुगेको र आधिकारिक जानकारी अनुसन्धानपछि दिने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै