ट्रेन्डिङ

२० वर्ष कोमामा रहेका साउदी राजकुमार ‘स्लिपिङ प्रिन्स’ को निधन

वीरगन्ज । करिब दुई दशकसम्म कोमामा रहेर ‘स्लिपिङ प्रिन्स’को उपनामले विश्वभर चिनिएका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ।

सन् २००५ मा, १५ वर्षको उमेरमा लन्डनमा सैनिक तालिमका क्रममा भएको कार दुर्घटनामा गम्भीर मस्तिष्क चोट लागेपछि उनी लगातार अचेत अवस्थामा थिए।

उनको उपचारमा अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि राजकुमार कहिल्यै पूर्ण रूपमा होसमा फर्कन सकेनन्। यद्यपि, कहिलेकाहीँ उनको शरीरमा देखिने हल्का गतिविधिहरूले परिवार र विशेषगरी उनका पिता राजकुमार खालिदलाई निको हुने आशा दिलाइरह्यो। खालिदले छोराको जीवन रक्षाका उपकरणहरू हटाउने चिकित्सकका सुझावहरू अस्वीकार गर्दै ईश्वरीय चमत्कारमा विश्वास राखेका थिए।

अचेत अवस्थामै रहेका राजकुमारलाई कुरानका पाठ सुनाउँदा उनका शरीरका अंग चल्मलाएको भिडियोहरू पनि सार्वजनिक भएका थिए, जसले विश्वभरका मानिसहरूमा गहिरो सहानुभूति र सम्मान जगाएको थियो।

तर, जुलाई १९, २०२५ मा साउदी अरबको विशेष स्वास्थ्य केन्द्रले उनको निधनको घोषणा गरेसँगै ‘स्लिपिङ प्रिन्स’ ह्यासट्याग सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएको छ। हजारौँ मानिसहरूले धैर्यता, आस्था र पितृप्रेमको प्रतीकका रूपमा उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। वर्षौँसम्म छोराको शय्या छेउमा अटल रहने पिता राजकुमार खालिदप्रति पनि ठूलो सम्मान व्यक्त भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै