ट्रेन्डिङ

झुण्डिएको अवस्थामा भेटिए पत्रकार प्रजापतिः मेयरको धम्की र पारिवारिक तनावमा आत्महत्याको आशंका

रौतहट । कटहरिया म्युजिकल एफएममा कार्यरत अन्दाजी ३० वर्षीय पत्रकार रविन्द्र प्रजापति शनिबार राति आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

यो घटनाले स्थानीय सञ्चार जगत र सर्वसाधारणमा गहिरो शोकका साथै विभिन्न प्रश्नहरू उब्जाएको छ।

प्रहरीका अनुसार, प्रजापतिलाई परिवारका सदस्यहरूले राति करिब ९ बजे झुण्डिएको अवस्थामा फेला पारेका थिए। तत्कालै उनलाई कटहरिया नजिकको स्वास्थ्य चौकी र त्यसपछि गरुडास्थित ग्राण्डी अस्पताल पुर्‍याइएको थियो। तर, राति १० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक रायले पुष्टि गरे ।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले पत्रकार प्रजापति केही दिनदेखि पारिवारिक तनावमा रहेको बताएको छ। यसका साथै, जेठ महिनाको अन्तिम सातातिर एउटा समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले उनलाई धम्की दिएको कुरा पनि सार्वजनिक भएको छ। प्रहरीको प्रारम्भिक अनुमानले यी दुई कारण, अर्थात् पारिवारिक समस्या र मेयरको धम्कीका कारण उत्पन्न तनावले उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको हुन सक्ने सङ्केत गरेको छ।

हाल प्रजापतिको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय रौहटले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ। यो घटना आत्महत्या मात्र हो वा यसमा अन्य कुनै कारण पनि जोडिएको छ भन्ने कुरा विस्तृत अनुसन्धानपछि मात्र खुल्नेछ। स्थानीय पत्रकारहरू र नागरिक समाजले यस घटनाको निष्पक्ष र गहन छानबिनको माग गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै