वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौंमा व्यवसायीहरूको सुरक्षा गर्न दुई तिहाईको शक्तिशाली सरकार असफल भएको आरोप लगाएका छन्।
काठमाडौंको कोटेश्वरमा कबाड व्यवसायीहरूको बैठकलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले राजधानीका व्यवसायीहरूलाई सुरक्षा दिन नसकेकोमा गम्भीर प्रश्न उठाए।
अध्यक्ष साहले काठमाडौं महानगरपालिकाले अदालतको आदेशविपरीत कबाड व्यवसायीका गोदामहरूमा डोजर आतंक मच्चाएको भन्दै सरकारले यसप्रति मौनता साँधेकोमा आक्रोश व्यक्त गरे। उनले भने, ‘सरकार त दुई तिहाई बहुमतको शक्तिशाली छ, तर काम बिचौलिया र दलालको मात्रै गरिरहेको छ। यहाँका व्यवसायीलाई सुरक्षा दिनुपर्ने सरकार टुलुटुलु बसेर हेर्न मिल्छ ?’
साहले वर्तमान सरकारलाई ‘झोले सरकार’को संज्ञा दिँदै आफ्नो परिवार र व्यवसायको सुरक्षाका लागि अब महानगरको ‘गुण्डागर्दी’ विरुद्ध प्रतिकारमा उत्रिनुको विकल्प नभएको बताए। ‘अदालतको आदेश छ कबाड व्यवसायलाई नहटाऊ तर यहाँ अदालतको आदेश पालना हुँदैन। सरकारले सुरक्षा दिँदैन। महानगरले डोजर आतंक मच्चाएको छ। यस्तो अवस्थामा तपाईंहरू आफ्नो परिवार, पेसा व्यवसायको सुरक्षाका लागि अब प्रतिकारमा उत्रिनै पर्छ। महानगरको गुण्डागर्दी सहेर बस्न सकिँदैन,’ साहले व्यवसायीहरूलाई सम्बोधन गर्दै भने।