ट्रेन्डिङ

वीरगन्जमा ‘एक घर, एक रक्तदाता’ नारासहित वृहत रक्तदान सम्पन्न, ४५ जनाद्वारा रक्तदान

वीरगन्ज । वीरगन्ज क्षेत्रमा बढ्दो रगतको अभाव र यसले उपचारमा पुर्‍याएको चुनौतीलाई सम्बोधन गर्न गौतम समाज कल्याण संस्था र गौतम स्कुलको संयुक्त आयोजनामा नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगन्जको समन्वयमा शनिबार एक बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

गौतम माध्यमिक विद्यालयको जुनियर विंगमा सम्पन्न भएको यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा रक्तदानप्रति चेतना जगाउनुका साथै बिरामीहरूको जीवन बचाउनका लागि नियमित रक्तदानको संस्कारलाई प्रवर्द्धन गर्नु रहेको छ।

कार्यक्रममा गौतम माध्यमिक विद्यालयकी म्यानेजिङ डाइरेक्टर प्रीया परिक्षा लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् भने नेपाल रेडक्रस सोसाइटी, वीरगन्ज शाखाका सभापति बृजकिशोर पटेल विशिष्ट अतिथि थिए।
रक्तदानमा १५ महिलासहित कुल ४५ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमा प्रीया परिक्षा लामा, रुक्मिणी चौधरी, देव सरन चौधरी थारु, उमाशंकर प्रसाद कुश्वाहा, देवराज न्यौपाने, अर्विन्द कुमार चौधरी, प्रभाकर गुप्ता, निरज गुप्ता, बेदानन्द ठाकुर लगायतको सक्रिय सहभागिता थियो।

रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डेले रक्त अभावका कारण धेरै बिरामीहरूले समयमै उपचार पाउन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले, ‘यदि हरेक घरबाट कम्तीमा एक जनालाई रक्तदाता बनाउन सकियो भने समाजमा ठूलो सकारात्मक परिवर्तन आउन सक्छ,’ भन्दै ‘एक घर, एक रक्तदाता’ अभियानको महत्वमा जोड दिए। वीरगन्जमा देखिने नियमित रक्त अभावको समस्या सामूहिक प्रयासबाट मात्र समाधान हुन सक्ने र यस अभियानले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई प्राविधिक सहयोग पुर्‍याउन रक्तसञ्चार केन्द्र वीरगन्जका सौरभ राज पाण्डे, राजन श्रीवास्तव, जितेन्द्र कुश्वाहा, विवेक यादव, नितेश साह लगायतको टोली सक्रिय रहेको थियो। साथै, गौतम स्कुलका शिक्षकहरू गणेश क्षेत्री, रमेश शर्मा र सौराज प्रधानको पनि विशेष उपस्थिति थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै