वीरुगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक किचलो बढिरहँदा पार्टीको अनुशासन समितिले कडा कदम चालेको छ।
समितिले अबदेखि पार्टीको नीति, सिद्धान्त र हितविपरीत हुने गरी कुनै पनि लिखित वा मौखिक अभिव्यक्ति नदिन तथा त्यस्ता क्रियाकलाप नगर्न सबै तहका नेता तथा कार्यकर्तालाई कडा चेतावनी दिएको छ।
यो निर्णय अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट नवराज सुबेदीलाई हटाएर रोशन कार्कीलाई नियुक्त गरेपछि बसेको पहिलो बैठकले गरेको हो। कार्कीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्यहरू प्रदीप उदय, भक्तिप्रसाद सिटौला र राजु बस्नेतको उपस्थिति थियो। बैठकले कार्कीलाई अध्यक्षमा मनोनयन गरेकोमा अध्यक्ष लिङ्देनलाई धन्यवाद दिएको छ।
यसअघि, हिजो मात्रै राप्रपाका चारजना पदाधिकारीले पार्टी नेतृत्वको आलोचना गर्दै विज्ञप्ति जारी गरेका थिए। साथै, पार्टीको संस्थापनइतर समूहले नवराज सुबेदीलाई अनुशासन समितिबाट हटाइएको विरोधमा निर्वाचन आयोगमा उजुरीसमेत दिएको छ।
यी घटनाक्रमका बीच, अध्यक्ष लिङ्देनले आजै पार्टीका उपाध्यक्ष तथा केन्द्रीय सदस्य मुकुन्दश्याम घिमिरेलाई बर्खास्त गरेका छन्। पार्टीमा थप नेताहरू पनि कारबाहीमा पर्न सक्ने संकेत देखिएको छ। राप्रपाभित्रको यो अनुशासनको कडाइले पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ।