वीरगन्ज । सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियास्थित एक घरबाट प्रहरीले आज बिहान ठूलो परिमाणमा लुकाइछिपाइ राखिएको लागूऔषध गाँजा बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा ७०० किलोभन्दा बढी गाँजा फेला परेको हो।
आज बिहान ६ बजे सिरहा प्रहरीले ६० वर्षीय मेदी यादवको घरमा छापा मार्दा घरभित्रै २६ पोका र थप एक पोका गरी कुल २७ पोका गाँजा फेला पारेको थियो। सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार बरामद गरिएको २७ पोका गाँजाको तौल गर्दा कुल ७१७.६ किलोग्राम पुगेको छ। यो सिरहामा हालैका दिनमा बरामद भएको लागूऔषधको ठूलो खेपमध्ये एक हो।
प्रहरीको छापा पर्नेबित्तिकै घरधनी मेदी यादव भने फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि पठाइसकेको छ। प्रहरीले फरार रहेका मेदी यादवको खोजी कार्य तीव्र पार्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।