ट्रेन्डिङ

नेकपा एकीकृत समाजवादी र बामदेव गौतमको अभियानबीच आज एकता हुँदै

फाइल तस्बिर

वीरगन्ज । लामो समयदेखि चर्चामा रहेको नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच आज औपचारिक एकता घोषणा हुँदैछ।

राष्ट्रिय सभागृहमा विशेष समारोहका बीच यो एकताले मूर्तरूप लिनेछ। गत असार २७ गते नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन्। आजको एकता घोषणा सभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

एकतापछि बन्ने नयाँ पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको नेताहरूले बताएका छन्। यसले पार्टीभित्र गौतमको भूमिका र स्थानलाई स्पष्ट पारेको छ।

दुवै पार्टीले राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको ठहर गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न सैद्धान्तिक रूपमा सहमत भएपछि यो एकताका लागि वातावरण बनेको बताएका छन्।

स्मरण रहोस्, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतले भंग गरेपछि बामदेव गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए। सुरुमा नेकपा एमालेमा नै फर्कन चाहेका गौतम अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका कारण रोकिएपछि उनले छुट्टै अभियान चलाएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै