ट्रेन्डिङ

‘एक घर, एक रक्तदाता’ अभियान : शनिबार वीरगन्जमा वृहत् रक्तदान

वीरगन्ज । वीरगन्ज क्षेत्रमा बढ्दो रगतको अभाव र उपचारमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगन्जको समन्वयमा र गौतम स्कुलको आयोजनामा यही शनिबार एक विशेष रक्तदान कार्यक्रम हुने भएको छ।

‘एक घर, एक रक्तदाता’भन्ने नाराका साथ यो अभियान सञ्चालन गरिनेछ। अभियानको मुख्य उद्देश्य समाजमा रक्तदानप्रति चेतना अभिवृद्धि गर्नुका साथै बिरामीको जीवनरक्षाका लागि नियमित रक्तदान गर्ने संस्कार स्थापित गर्नु रहेको गौतम स्कुलले जनाएको छ।

विद्यालयले आफ्ना २१ सयभन्दा बढी विद्यार्थीहरूलाई रक्तदानको महत्त्व, यसका फाइदाहरू र आपत्कालीन अवस्थामा यसले कसरी जीवन बचाउन सक्छ भन्ने विषयमा कक्षा प्रशिक्षण दिएको छ। विद्यार्थीहरूमार्फत अभिभावकसम्म जानकारी पुर्‍याउन नेपाल रेडक्रसका स्वयंसेवकहरूको संयोजनमा पर्चा–पम्पलेट पनि वितरण गरिएको छ।

‘रगतको अभावका कारण धेरै बिरामीहरू समयमै उपचार पाउनबाट वञ्चित हुँदै आएका छन्,’ आयोजकले भने, ‘यदि हरेक घरबाट कम्तीमा एक जनालाई रक्तदाता बनाउन सकियो भने समाजमा ठूलो सकारात्मक प्रभाव पर्न सक्छ।’

वीरगन्जमा नियमित रूपमा देखिने रगत अभावको समस्यालाई सामूहिक प्रयासबाट मात्र समाधान गर्न सकिने र ‘एक घर, एक रक्तदाता’ अभियानले समुदायमा दीर्घकालीन परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। गौतम स्कुलका अनुसार, ‘संकटको घडीमा समयमै गरिएको रक्तदान कसैको जीवनको सञ्जीवनी बन्न सक्छ। आज हामीमध्ये हरेकसँग साँचो नायक बन्ने अवसर छ, कुनै कथामा होइन, वास्तविक जीवनमा।’

कार्यक्रम शनिबार गौतम स्कुलको जुनियर विंगमा सञ्चालन हुनेछ। आयोजकहरूले यस पुण्य कार्यमा सहभागी भई जीवन बचाउनका साथै सन्तानलाई सेवा, दया र मानवीयताको अमूल्य पाठ सिकाउन सबैलाई हार्दिक आग्रह गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै