ट्रेन्डिङ

भूमीमन्त्री बलराम अधिकारीमाथि घुसको आरोप, कांग्रेसद्वारा छानबिनको माग

वीरगन्ज । सत्ता गठबन्धनको एक प्रमुख घटक नेपाली कांग्रेसले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि लागेको ३२ लाख रुपैयाँ घुस लिएको आरोपबारे छानबिनको माग गरेको छ।

मन्त्री अधिकारी संलग्न रहेको दाबी गरिएको एक अडिओ सार्वजनिक भएपछि कांग्रेसले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने अडान लिएको हो।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अडिओ प्रकरणमा सम्बन्धित निकायले गहिरो छानबिन गर्नुपर्ने बताए। ‘प्रहरीले गर्ने हो कि अख्तियारले गर्ने हो, छानबिन गर्नुपर्छ र यसको टुङ्गो लगाउनुपर्छ,’ डा. महतले भने। उनले यस प्रकरणमा संलग्न जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए। ‘जो दोषी छन्, उनीहरूलाई कारबाही गर्नुपर्छ, अहिले अडिओ सार्वजनिक भएको छ, त्यसमा सम्बन्धित निकायले छानबिन गर्नुपर्छ। जो दोषी देखिन्छन्, कारबाहीमा आउनुपर्छ,’ उनले थपे।

कानूनी र विधिको शासनमा बदमासी गर्ने कोही पनि कानूनी कारबाहीबाट उम्कन नसक्ने उनको भनाइ थियो।

मन्त्री अधिकारीमाथि पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग उनले घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएको छ। अडिओमा मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख रुपैयाँ लिएको दाबी गरिएको छ।

यसअघि, तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पनि घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए। हाल अडिओ प्रकरणमा मुछिएका मन्त्री अधिकारी र पूर्वमन्त्री गुप्ता दुवै नेकपा एमालेका नेता हुन्। गुप्ताको अडिओमा उनले ३५ लाख र सचिव पोखरेलले ५ लाख रुपैयाँ लिएको दाबी गरिएको थियो। जग्गाका लागि डेढ करोड रुपैयाँ खर्च भइसकेको अडिओमा सुन्न सकिन्छ। स्मरणीय छ, मन्त्री अधिकारीको नाम यसअघि गुप्ताको अडिओ प्रकरणमा पनि जोडिएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै