वीरगन्ज । स्वास्थ्य बीमा बोर्डले साउन १ गतेदेखि लागू हुने गरी मधेश प्रदेशका ४२ वटा स्वास्थ्य संस्थाहरूलाई ‘प्रथम सेवा विन्दु’का रूपमा सूचीकृत गरेको छ।
यस निर्णयसँगै स्वास्थ्य बीमा गरेका नागरिकहरूले अब यी सूचीकृत स्वास्थ्य संस्थाहरूबाट रिफर बिना नै सिधै स्वास्थ्य सेवा लिन सक्नेछन्, जसले सेवालाई थप सहज र प्रभावकारी बनाउनेछ।
सूचीकृत भएका ४२ संस्थामध्ये पर्साका पाँच वटा स्वास्थ्य संस्था रहेका छन्। पर्साबाट लोहारपट्टी प्राथमिक स्वास्थ्य केन्द्र, भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्र, बगही प्राथमिक स्वास्थ्य केन्द्र, बागेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र र पोखरिया अस्पताललाई प्रथम सेवा विन्दुको रूपमा तोकिएको छ।
यसका साथै, मधेश प्रदेशका अन्य सात जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरू पनि यस सूचीमा परेका छन्।
बारा : निजगढ, कोल्हवी, पिपरा सिमरा, गन्जभवानीपुर, हरदिया प्राथमिक स्वास्थ्य केन्द्र र कलैया प्रादेशिक अस्पताल।
रौतहट : गौर अस्पताल, राजपुर, पौरा, कटहरिया, गंगापिपरा तथा चन्द्रनिगाहपुर अस्पताल।
सर्लाही : मलङ्गवा अस्पताल, लालबन्दी, बरहथवा, हरिपुर, जमुनिया, अचलगढ स्वास्थ्य केन्द्र तथा रामकुमार उमा प्रसाद मुरारका स्मारक अस्पताल।
महोत्तरी : गौशाला, सम्सी, रामगोपालपुर, पिपरा, बर्दिवास।
धनुषा : जनकपुर अञ्चल अस्पताल, महेन्द्रनगर, सबैला, यदुकुहा, धनुषाधाम, परवाहा प्राथमिक स्वास्थ्य केन्द्र लगायत बर्दिवास र जलेश्वर अस्पताल।
सिरहा : प्रादेशिक अस्पताल, भगवानपुर, नवराजपुर र औराही प्राथमिक स्वास्थ्य केन्द्र।
सप्तरी : भारदह अस्पताल, तोपा, कञ्चनपुर, कल्याणपुर, कदरबोना प्राथमिक स्वास्थ्य केन्द्र।
स्वास्थ्य बीमा बोर्डका अनुसार, यो व्यवस्थाले बीमित नागरिकहरूलाई सहज, सरल र छिटो सेवा प्राप्त गर्न मद्दत पुग्नेछ। अब बीमितहरूले अन्य अस्पताल वा चिकित्सकबाट रिफर लिनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। यसले स्वास्थ्य सेवाको उपयोगमा वृद्धि हुने र अनावश्यक प्रक्रियागत ढिलाइ कम हुने विश्वास बोर्डले लिएको छ।