वीरगन्ज । सरकारले पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असार २३ र असार ३० गतेका बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। यी निर्णयहरूमा आर्थिक, प्रशासनिक, वातावरणीय र अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएका विविध पक्षहरू समेटिएका छन्।
असार २३ गतेका मुख्य निर्णयहरू : नयाँ नोट र ‘राष्ट्रिय कोदो दिवस’
दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक (साउन ६–१२, न्यूयोर्क, अमेरिका) मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति दिइएको छ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणमा जान स्वीकृति प्रदान गरिएको छ।
एक हजार रुपैयाँ दरको नयाँ नोट छपाइका लागि चित्र र आकार स्वीकृत गरिएको छ।
विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत १०.८ मिलियन अमेरिकी डलर बराबरको विश्व बैंक अनुदान स्वीकार गरिएको छ।
प्रत्येक साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ को रूपमा मनाउने महत्त्वपूर्ण निर्णय गरिएको छ, जसले कोदोको महत्त्वलाई उजागर गर्नेछ।
उखु उत्पादक कृषकहरूलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय भएको छ।
नेपाली सेनाका ३७ महासेनानीको सरुवा गरिएको छ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ८ मा जिपलाइन तथा स्काई साइकलिङ निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग स्वीकृति दिइएको छ।
वन तथा वातावरण मन्त्रीलाई नर्वेमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरिएको छ।
हैसियत बिग्रिएको राष्ट्रिय वनको जग्गा पर्यटन तथा वन पैदावरमा आधारित उद्योगको प्रयोगका लागि स्वीकृति दिइएको छ।
चीनमा आयोजना हुने आणविक प्रतिक्रियासम्बन्धी कार्यक्रममा विज्ञान तथा प्रविधि सचिवलाई सहभागी हुन स्वीकृति दिइएको छ।
नेपाल–जापानबीच सीपयुक्त कामदार पठाउने समझदारीपत्रको अवधि ५ वर्षका लागि नवीकरण गरिएको छ।
जल तथा ऊर्जा आयोगको संगठन संरचना र दरबन्दी स्वीकृत गरिएको छ।
क्यासिनो नियमावली, २०८२ र राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ स्वीकृत भएका छन्।
नायब महालेखापरीक्षक नारायण एम.सी.लाई उपमहालेखापरीक्षकमा बढुवा गरिएको छ।
असार ३० गतेका प्रमुख निर्णयहरू : थप ऋण सहायता र महत्त्वपूर्ण नियुक्ति
नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापान सरकारबाट प्राप्त ५ अर्ब ७० करोड येन बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरिएको छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा। खगराज शर्मा (रुपन्देही)लाई नियुक्त गरिएको छ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान विकास समितिको कार्यावधि ४ महिनाका लागि थप गरिएको छ।
‘सेकेण्ड युएन फुड सिस्टम स्टक टेक समिट’ (इथियोपिया, साउन ११–१३) मा डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति दिइएको छ।
बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको छानबिनका लागि पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरिएको छ।
दक्षिण अफ्रिकामा आयोजना हुने ग्लोबल एसएमई मिटिङमा प्रा. कपिलमान श्रेष्ठ (राजदूत)लाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ।
अमरगढी नगरपालिका, डडेल्धुरामा बहुउद्देश्यीय भवन निर्माणका लागि जिल्ला समन्वय समितिको जग्गा प्रयोग स्वीकृति दिइएको छ।
नेपाली सेनामा एक प्रमुख सेनानी महासेनानीमा, एक महासेनानी सहायक सेनानीमा बढुवा तथा १९ सहायक सेनानीको सरुवा गरिएको छ।
नवलपरासी (ब.सु.पू) मा ग्रामीण सडक स्तरोन्नतिका लागि ३.९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग स्वीकृति दिइएको छ।
कोशी गाउँपालिका सुनसरीको केन्द्र वडा नं. १ बाट ३ मा र कालिगण्डकी गाउँपालिका स्याङ्जाको केन्द्र वडा नं. ४ कट्टीबाट गहलाममा परिवर्तन गरिएको छ।
‘वर्ल्ड एआई कन्फरेन्स २०२५’ (सांघाई, चीन)मा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र ‘ग्लोबल हेल्थ फोरम २०२५’ (बेइजिङ) मा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ।