ट्रेन्डिङ

डेंगी परीक्षण निःशुल्क गर्ने तयारी, नसके शुल्क तोकिने : स्वास्थ्यमन्त्री पौडेल

वीरगन्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा जोड दिएका छन्।

आज ‘साउन डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षण सकेसम्म निःशुल्क गर्ने प्रयास गरिने र यदि सम्भव नभए निश्चित शुल्क तोकिने बताए।

मन्त्री पौडेलले डेंगीको गम्भीरतालाई समाजले अझै पनि पूर्ण रूपमा महसुस गर्न नसकेको बताए। ‘हामीले यसको जटिलता, चुनौती, समस्या जति हो, त्यसरी नै समाजलाई महसुस गराउन जरुरी छ,’ उनले भने, ‘म सुरक्षित छु भन्ने कुरा बेकार हो।’

उनले थपे, ‘परिवारमा एक जना बिरामी भएपछि परिवारमा असहजता हुन्छ। समाजका सबै मान्छे प्रभावित भएको स्थिति छ। वर्षेनी बढिरहेको छ।’ डेंगीको समस्या अहिले सामान्य अवस्थाभन्दा माथि गइसकेको मन्त्री पौडेलको भनाइ थियो।

डेंगी परीक्षणको नाममा गरिब तथा दुःखी मानिसहरूलाई लुट्ने काम बन्द गर्न पनि मन्त्री पौडेलले चेतावनी दिएका छन्। ‘यसको परीक्षणमा पनि शुल्क तय गरिनुपर्छ। मान्छे गरिब छ, दुःख परेको छ भने उसबाट झन धुत्न खोज्ने ?’ उनले प्रश्न गर्दै भने, ‘निजी क्षेत्रलाई पनि यसको शुल्क र्धारण गरिनुपर्छ।’

दूरदराजका मानिसहरूका लागि यो समस्या झन् विकराल रहेको औंल्याउँदै उनले भने, ‘खान लगाउन समस्या छ अनि यसको जटिलता थपिएपछि कस्तो अवस्था हुन्छ ?’

मन्त्री पौडेलले डेंगी नियन्त्रणका लागि सरकारले गर्नुपर्ने जति काम गर्न नसकेको स्वीकार गरे। उनले डेंगीबाट समाज नै प्रभावित बनिरहेको बताउँदै यस विषयमा सरकारले सञ्चारमाध्यमसँग सहकार्य गरी व्यापक प्रचारप्रसार गर्ने तयारी गरिरहेको जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै