वीरगन्ज । नयाँ आर्थिक वर्षको सुरुवातसँगै वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्, जसअनुसार समग्रमा ब्याजदरमा कमी आएको छ।
असार महिनाको तुलनामा औषत ब्याजदर घटेको पाइएको छ, जसको सीधा असर व्यक्तिगत मुद्दती निक्षेपकर्ताहरूलाई पर्नेछ।
बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.६९७५ प्रतिशत बिन्दुमा झरेको छ। जबकी, असार महिनामा यस्तो ब्याजदर ५.९०२ प्रतिशत बिन्दु रहेको थियो। यसले निक्षेपबाट प्राप्त हुने आम्दानीमा सामान्य कमी आउने देखाउँछ।
ब्याजदर घटाउने बैंकहरूको सूचीमा प्रभु बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छन्।
यीमध्ये, प्रभु बैंकले सबैभन्दा ठूलो कटौती गरेको छ। यस बैंकले असारको तुलनामा साउनमा १.८५ प्रतिशत बिन्दु ब्याजदर घटाएको छ। असारमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.१ प्रतिशतसम्म ब्याज दिँदै आएको प्रभु बैंकले अब साउनमा ४.२५ प्रतिशत मात्र ब्याज प्रदान गर्नेछ। यो गिरावट निक्षेपकर्ताहरूका लागि केही चिन्ताको विषय हुन सक्छ।
यसबीच, सबै बैंकहरूले ब्याजदर घटाएका भने छैनन्। स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले भने साउनका लागि ब्याजदर बढाएका छन्। यसले ती बैंकका निक्षेपकर्ताहरूलाई भने केही राहत मिलेको छ।
यसैगरी, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंक गरी चार वाणिज्य बैंकले साउन महिनाका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन्।
समग्रमा, साउन महिनाको ब्याजदरले वित्तीय बजारमा तरलताको अवस्था सहज हुँदै गएको संकेत गर्दछ, जसको कारण बैंकहरूले निक्षेप आकर्षित गर्न धेरै ब्याज दिनुपर्ने आवश्यकता कम भएको देखिन्छ।
