वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेमाथि भइरहेको ‘राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान’मा ऐक्यबद्धता जनाएका छन्।
सोमबार रास्वपा मुख्यालय घण्टीघर पुगेर राउतले अभियानमा हस्ताक्षर गरेका हुन्।
हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले जनमत पार्टी आफैँ पनि न्यायका लागि लडिरहेको संगठन भएकाले न्यायकै पक्षमा आवाज उठाउन आफू आएको बताए। ‘हामी त न्यायका लागि लडिरहेको पार्टी नै हो। संगठन हौँ। त्यसैले रास्वपाको अभियानमा साथ सहयोग छ,’ उनले भने, ‘राजनीतिक मान्यता फरक भए आफ्नो ठाउँमा छ, तर अन्यायको कुरामा हामी आवाज उठाउँछौँ।’
राउतले कुनै पनि व्यक्तिमाथि राज्यले राजनीतिक प्रतिशोध साध्न नहुने कुरा जनताको अभिव्यक्ति भएको जिकिर गरे। उनले अदालतको भूमिकामाथि पनि टिप्पणी गर्दै भने, ‘कसरी अदालत प्रभावित हुन्छ भनेर हामी हाकाहाकी छौँ। जनताले हस्ताक्षर गर्दैमा अदालतको विरोध भएको भनेर चित्रण गर्नुपर्छ भन्ने छैन, बरु अदालतले चाहिँ न्याय दिन सकोस् भन्ने रूपमा हेर्नुपर्छ।