बारा । जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र नेता वीरेन्द्र साहले आफूमाथि कालोमोसो छर्की ज्यान मार्ने प्रयास भएको भन्दै पार्टीकै दुई नेताविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा सोमबार किटानी जाहेरी दर्ता गराएका छन्।
जाहेरीमा उल्लेख भएअनुसार, गत असार २९ गते बिहान ११ बजे बाराको महागढिमाई नगरपालिका–३ दहियारस्थित घटनास्थलमा जनमत पार्टीकै नेता विकासकुमार सिंह र रामबाबु साहले आफूहरूलाई लक्षित गरी कालोमोसो छर्केका थिए। पीडित नेताहरूले उजुरीमा विकासकुमार र रामबाबुसँगै अन्य १०–१२ जना अज्ञात व्यक्तिहरू मिलेर योजनाबद्ध रूपमा आफूहरू चढेको गाडी रोकी पेट्रोलियम पदार्थ छर्की आगो लगाउने प्रयास गरेको गम्भीर आरोप लगाएका छन्।
निलम्बित उपाध्यक्ष दीपक साहले विकासकुमार र रामबाबु पार्टी अध्यक्ष डा. सीके राउतका ‘खास मान्छे’ भएको दाबी गर्दै डा. सीके राउतकै इशारामा आफूहरूमाथि हमला भएको आरोप लगाएका छन्। जाहेरीपत्रमा भनिएको छ, ‘हामी जाहेरवाला र डा. सि.के. राउतबीच रहेको व्यक्तिगत रिसईबी साधन गर्न डा. सि.के. राउतका समर्थक भनिएका विपक्षीहरूले हामी चढेको गाडीको सिसा खोल्न लगाई शरीरमा पेट्रोलियम पदार्थ छर्की आगो लगाउने उद्देश्यले सलाई तथा लाइटर समेत तयारी अवस्थामा राखेका थिए। तर हामी गाडी स्टार्ट गरी घटनास्थलबाट भाग्न सफल भएकाले ज्यान जोगिएको हो।’
प्रहरीसमक्ष दायर उजुरीमा यो घटना योजनाबद्ध र राजनीतिक प्रतिशोध स्वरूप गरिएको दाबी गरिएको छ। उजुरी दिने नेताहरूले आफूहरू पूर्व उपाध्यक्ष, कोषाध्यक्ष तथा पार्टीका प्रभावशाली कार्यकर्ता भएका कारण लक्षित आक्रमण भएको स्पष्ट पारेका छन्।
यो घटनाले जनमत पार्टीभित्रको आन्तरिक कलह पूर्ण रूपमा सतहमा आएको छ। जाहेरीमा पार्टी अध्यक्ष डा. सीके राउतले आफ्नो फेसबुकमार्फत ‘थ्रेट’ दिएको भोलिपल्टै यो आक्रमण भएको दाबी गरिएको छ। यस घटनाको पार्टीभित्रै पनि विरोध भइरहेको छ।

