ट्रेन्डिङ

‘सरकार बिचौलियाको इशारामा, लोकतन्त्र खतरामा छ !’ : प्रचण्ड

वीरगन्ज । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार नियामक संस्थाहरूमा समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाएका छन्।

सोमबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको र यसको ‘अप्राकृतिक गठबन्धन’को चरित्र लाजमर्दो तरिकाले उजागर भएको दाबी गरे।

उनले सरकारमाथि धितोपत्र बोर्डको चलखेल, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण र सरुवा/नियुक्तिमा हुने लाखौंको डिल जस्ता घटनाहरूलाई उदाहरणका रूपमा पेस गरे। प्रचण्डले भने, ‘तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ।’

अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको उनको आरोप थियो। स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्दै प्रश्नसमेत उठाए।

प्रचण्डले ‘सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको’ भन्दै यसलाई लोकतन्त्रका लागि खतरनाक संकेत बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै