वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको नाम जोडिएको कर्मचारी सरुवामा घुस डिल प्रकरणले संसदमा ठूलो तरंग ल्याएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले मन्त्री गुप्तामाथि गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्री केपी ओलीको जवाफ माग गरेका छन्।
नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले विशेष समय लिएर बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ‘७८ लाखको डिल’ गरेको भन्ने समाचारहरू सार्वजनिक भएकोतर्फ सदनको ध्यानाकर्षण गराइन्। पूर्वमन्त्रीसमेत रहेकी शर्माले सभामुखमार्फत प्रधानमन्त्रीलाई यस विषयमा संसदमा जानकारी गराउन र दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरिन्। उनले यदि छानबिन र कारबाही नभए ‘सरकारको एक वर्षको उपलब्धि यही हुनेछ’ भन्दै चेतावनीसमेत दिइन्।
माओवादीकै अर्की सांसद दुर्गा राईले मन्त्रीहरूले घुसको डिल गरेको सार्वजनिक हुँदा पनि प्रधानमन्त्री चुप लागेर बसेको भन्दै प्रश्न उठाइन्। उनले प्रधानमन्त्रीको ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने भनाइले मात्र नपुग्ने भन्दै मन्त्री गुप्ताको घुस डिल प्रकरणको जवाफ सदनमा आएर दिन माग गरिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताको सार्वजनिक भएको अडियो प्रकरणलाई सिधा जोड्दै सरकारमाथि कटाक्ष गरिन्। उनले ‘मन्त्रिमण्डलको अर्को काण्ड – कास्कीको कार्यालयमा को पठाउनेमा सेटिङ – घुस’ भन्दै प्रश्न उठाइन्।
सांसद श्रेष्ठले ‘एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ – यसको छानबिनको हामी माग गर्छौं’ भन्दै अडियोमा उल्लेखित ‘सम्बन्धित ठाउँ’ र ‘बा’ को हुन् भनी प्रष्ट पार्न माग गरिन्। उनले ‘दुई तिहाइको सुशासन भनेको के यही हो ? आफ्नोलाई चैन, अरूलाई ऐन नै ऐन ?’ भन्दै विगतमा भएका अडियो काण्डहरूलाई समेत स्मरण गराइन्।
मन्त्री गुप्ताको नाम सार्वजनिक रूपमा जोडिएपछि संसदमा उनीमाथि नैतिक प्रश्न खडा भएको छ। यस घटनाले सरकारको सुशासनको नारामाथि गम्भीर चुनौती थपेको छ।