ट्रेन्डिङ

शेखर कोइराला गुटको छुट्टै बैठक, अनुशासन समितिको कारबाही अस्वीकार

वीरगन्ज । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केही नेताहरूलाई कारबाही गरेपछि पार्टीभित्रको आन्तरिक विवाद झनै गहिरिएको छ।

यसै सन्दर्भमा आज कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो सम्पर्क कार्यालयमा समूहको महत्त्वपूर्ण बैठक बोलाएका छन्।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार तथा नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको उपस्थिति थियो।

बैठकको मुख्य सार कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने र उनीहरूलाई न्याय दिलाएरै छाड्ने भन्नेमा केन्द्रित थियो। कोइराला समूहले अनुशासन समितिको यो कारबाही विधानविपरीत र एकतर्फी भएको निष्कर्ष निकालेको छ। उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने निर्णय गरेका छन्। साथै, यो कारबाहीलाई राजनीतिक रूपमा सशक्त प्रतिरोध गर्ने र नमान्ने अडान पनि लिइएको छ।

बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबीच अनुशासन समितिको फाइल अहिले नचलाउने सहमति भएको खुलासा गरे। तर, अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमा छलफल नगरी एक्कासि विज्ञप्ति निकालेर कारबाही गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

यो घटनाक्रमले नेपाली कांग्रेसभित्रको गुटगत राजनीति झनै पेचिलो बन्दै गएको र आगामी दिनमा यसले पार्टीभित्र थप ध्रुवीकरण ल्याउने सम्भावना देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै