फाइल तस्बिर
सिरहा । सिरहाको बरियारपट्टि गाउँपालिका–३ का विपन्न दलित समुदायको भान्सा अब धुँवामुक्त हुने भएको छ।
वडा कार्यालयले १० लाख रुपैयाँको बजेटमा चमार, डोम र साफी समुदायका १२६ घरपरिवारलाई ग्यास चुलो, सिलिन्डर, पाइप र लाइटरसहितको पूर्ण सेट वितरण गरेको छ।
वडाध्यक्ष विनोदकुमार यादवले यो कार्यक्रम दैनिक ज्यालादारीमा जीवन गुजार्दै आएका दलित समुदायको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर ल्याइएको बताए। ‘पातपतिङ्गर र पराल बटुलेर खाना पकाउँदा आगलागीको जोखिम बढ्छ, त्यसैले हामीले ग्यास चुलो वितरण गरेका हौँ,’ उनले भने।
चमार टोलकी ४९ वर्षीया विन्दादेवी रामले ग्यास चुलो पाएपछि आफ्नो जीवनमा ठूलो राहत मिलेको खुसी व्यक्त गरिन्। ‘अब धुँवामा बस्नुपर्दैन,’ उनले भनिन्।
वडाध्यक्ष यादवका अनुसार, वडा कार्यालयले यसअघि आर्थिक वर्ष २०८०र०८१ मा पनि ९ लाख रुपैयाँ खर्चेर रामपुर पिप्रा र तिलैया क्षेत्रका मुसहर बस्तीका ९९ घरपरिवारलाई ग्यास चुलो वितरण गरिसकेको छ।
आगामी आर्थिक वर्षमा पनि १० लाख रुपैयाँको बजेट छुट्याइएको छ। यस बजेटबाट मण्डल र मुखिया परिवारलाई ग्यास चुलो वितरण गरिनेछ। वडाध्यक्ष यादवले यसपछि वडाभरका सबै दलित बस्तीमा ग्यास चुलो पुग्ने लक्ष्य रहेको बताए। यो पहलले विपन्न समुदायको जीवनस्तर उकास्न र उनीहरूलाई स्वच्छ तथा सुरक्षित भान्सा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।