ट्रेन्डिङ

गम्भीर रोगका बिरामीलाई अब २ लाखको उपचार सहायता

वीरगन्ज । अब क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर जस्ता आठ प्रकारका जटिल रोगका बिरामीले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत दुई लाख रुपैयाँसम्मको उपचार सेवा प्राप्त गर्ने भएका छन्।

स्वास्थ्य मन्त्रालयले यसअघि पाइँदै आएको एक लाख रुपैयाँको उपचार सहायतालाई साउन १ गतेदेखि लागू हुने गरी दोब्बर पारेको हो।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गम्भीर रोग लागेर उपचार खर्च जुटाउन समस्या भोगिरहेका नागरिकलाई राहत दिन यो निर्णय गरिएको बताएका छन् । मंगलबार बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले आठ जटिल रोगीलाई दुई लाख उपचार खर्च दिने निर्णय गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए ।

यससँगै स्वास्थ्य बीमा कोषको आयस्रोत बढाउन विभिन्न नीतिगत निर्णयहरू पनि गरिएका छन्। सबै सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने, वैदेशिक रोजगारीमा गएका तथा उनीहरूका परिवारलाई समेत बीमामा समेट्ने प्रयास भइरहेको छ।

साथै, संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत स्वास्थ्य बीमा कोषमा पठाउने र प्रगतिशील करमार्फत कोषमा जाने रकम बढाउने निर्णय पनि गरिएको छ। अनियमित भुक्तानी माग्ने अस्पतालहरूलाई कारबाही गर्दै बीमा बोर्डले आफ्नो प्रणालीमा सुधार गरिरहेको पनि जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै