वीरगन्ज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको सानेपाबाट डेढ अर्ब रुपैयाँभन्दा बढीको अवैध क्रिप्टो करेन्सी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
उनीहरूले किराना पसलको आवरणमा यो गैरकानुनी धन्दा चलाइरहेको खुलेको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारीका ४३ वर्षीय रुपेश कुमार गुप्ता र बिहारकै पूर्वी चम्पारण बिजबानीका २२ वर्षीय बिपिन कुमार छन्। सीआईबीका अनुसार, उनीहरूले ललितपुर महानगरपालिका–२ सानेपास्थित कालोपुलमा रहेको ‘राजतिर्थ ट्रेडर्स’ नामक किराना पसललाई अवैध हुन्डी र अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको माध्यम बनाएका थिए।
अवैध हुन्डी कारोबारको सूचनाका आधारमा प्रहरीले सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा उनीहरूको साथबाट ८ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ र एकथान सीसीटीभी डीभीआर बरामद भएको छ।
यसका साथै, प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो वस्तुसमेत बरामद गरेको सीआईबी प्रवक्ता तथा प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।