बारा । बाराको कलैया उपमहानगरपालिका–१४, बघवन गाउँमा भएको नन्दु राउत कुर्मीको हत्या प्रकरणमा संलग्न पाँच जनालाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ।
जिल्ला अदालत बाराका मुख्य जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यको इजलासले असार २२ गते यो आदेश दिएको हो। अदालतले आरोपीहरूलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा चल्दै गरेको उल्लेख गर्दै थुनामा राख्न आदेश दिएको हो।
गत जेठ २९ गते साँझ ७ बजे नन्दु राउत कुर्मीलाई बघवन चोकस्थित राइस मिलमा काम गरिरहेको बेला छिमेकी उमेशप्रसाद जयसवाल, उनका छोरा, पत्नी र अन्यले सामूहिक कुटपिट गरेका थिए। गम्भीर घाइते भएका कुर्मीलाई तत्काल कलैया प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनालगत्तै मृतकका छोरा दीपेन्द्र पटेलले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका थिए। प्रहरी अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले असार २० गते पाँच जनामाथि अभियोजन पत्र दर्ता गरेको थियो। प्रहरी अनुसन्धानका क्रममा घटनाको कारण पुरानै रिसिइबी रहेको खुल्न आएको छ। कुटपिटमा संलग्नको आशंकामा उमेशप्रसाद जयसवाल, उनकी पत्नी, तीन जना छोरासहित दिगम्बर साह कलवारलाई समेत मुद्दामा आरोपित बनाइएको छ।